सुत्केरी भएको २१ दिनमा श्रीमानले छाडेर गएपछि बिचल्ली भएकी विनितालाई सहयोग जारी…..

जानकारी समाज

सहयोग प्राप्त भएपछि काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता भूलेलको मुहारमा कान्ति छाएको छ । सुत्केरी भएको २१ दिनमा श्रीमान्ले छाडेर गएपछि उहाँ समस्यामा पर्नुभएको थियो । विभिन्न क्षेत्रबाट सहयोग आउन थालेपछि उहाँका दैनिक गर्जाे टर्दै गएको छ भने पुराना ऋणसमेत तिर्न थाल्नुभएको छ ।

अझ पढ्न छाडेकी १२ वर्षकी छोरी नुनिशालाई उच्च शिक्षा पढाउन दाता तयार भएपछि आमा¬छोरी नै निक्कै खुशी देखिनुहुन्छ । स्वदेश र विदेशबाट आएको आर्थिक सहयोग ग्रहण गर्दै विनिताले भन्नुभयो, “म श्रीमान्ले छाडेपछि विचल्लीमा परेको थिएँ, तपाईहरुले ठूलो सहयोग गर्नुभयो, कहिल्यै बिर्सिने छैन, धेरैधेरै धन्ययाद ।” उहाँले छोरीलाई उच्च शिक्षासम्मै पढाइदिने खबर सुनेर झन् हर्षित भएको प्रतिक्रिया दिनुभयो ।

काँडाघारीस्थित उहाँको कोठामा पुगेर राससको टोलीले स्वदेश र विदेशबाट प्राप्त सहयोग नगद रु ३० हजार १७६ र केही लत्ताकपडा तथा सुत्केरीका लागि चाहिने सामग्री आज हस्तान्तरण गरेको थियो । उहाँलाई अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई हाल अमेरिकाको कोलोराडो बस्ने सामाजिक अभियन्ता सरिता गुरुङले रु १० हजार सहयोग गर्नुभयो ।

उहाँकै समन्वयमा पोखरा घर भई हाल मलेसियामा व्यवसाय गर्नु हुने सपना गुरुङले रु १० हजार र सिन्धुपाल्चोकको हेलम्बु घर भई हाल अमेरिकाको नर्थ क्यारोलिना बस्ने छेतेन हेल्मो ग्रेडीले रु ६ हजार १७६ सहयोग गर्नु भएको हो । यस्तै सुनसरीस्थित नेपाल विद्युत् प्राधिकरण दुहवी वितरण केन्द्रमा कार्यरत पारु लुइँटेलले पनि उहाँको एक महिना बराबरको कोठा भाडाबापत लाग्ने खर्च रु ४ हजार सहयोग गर्नुभयो ।

आजै काठमाडौँको पेप्सीकोला बस्ने चार महिनाकी सुत्केरी सोनु गुरुङले लत्ताकपडा, सुत्केरीका लागि चाहिने सामग्री, खानेकुरा र सरसफाइसम्बन्धी सामग्री सहयोग गर्नुभएको छ । प्राप्त सबै सहयोग आजै हस्तान्तरण गरिएको थियो । रासस मार्फत यही चैत ६ गते ‘सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । यही समाचारमार्फत विनितालाई परेको समस्या थाहा पाएर उहाँहरुले सहयोग गर्नुभएको हो ।

यसअघि उहाँलाई जर्मनीमा बस्ने आशिका लामाको आशिका फाउण्डेसनबाट (सन्दीप बस्नेतमार्फत) नगद रु १० हजार र रु चार हजार २०० बराबरको तत्कालका लागि चाहिने ग्यास तथा खाद्यान्न सामग्री तथा गोल्छा अर्गनाइजेशनअन्तर्गत हुलास पावरका महाप्रबन्धक बाराका प्रीतमकुमार काफ्लेले रु १० हजार सहयोग गर्नुभएको छ ।

चौध वर्षअघि प्रेम विवाह भएकामा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा उहाँलाई छाडेर श्रीमान् देवकुमार कहाँ गए कसैलाई थाहा छैन । उनले अर्कै महिला लिएर भागेको विनिताको आरोप छ । उहाँले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्किएको र २९ गतेदेखि सम्पर्कविहीन भएको बताउनुभयो । ‘ पढेर ठूलो मान्छे बन्छु ’ बुबाले स्कुलमा भर्ना नगरिदिएकाले छोरी नुनिशा एक वर्षदेखि स्कुल जानबाट वञ्चित हुनु भएको थियो ।

पटकपटक स्कुलमा भर्ना गरिदिन आग्रह गर्दा कसैले भर्ना नगरिदिएकाले आफूले पढ्न नपाएको नुनिशाले दुखेसो गर्नुभएको थियो । सोही विषयमा राससमार्फत समाचार सार्वजनिक भएपछि काठमाडौँको कपन घर भई हाल अष्ट्रेलियामा रहनुभएका उत्सवप्रसाद थपलियाले उनलाई उच्च शिक्षासम्म पढ्नका लागि लाग्ने खर्च आफूले बेहोर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त कुरा थाहा पाएर विनिता र छोरी नुनिशा निक्कै खुशी हुनुभयो । विनिताले छोरीलाई पढाइदिने खबर सुनेर झन् खुशी भएको प्रतिक्रिया दिनुभयो । नुनिशाले सङ्क्षिप्तमा भन्नुभयो, “उत्सव दादा म पढेर ठूलो मान्छे बन्छु ।” आफ्नो लागि आएको सहयोगको सही सदुपयोग गर्नेसमेत उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *